कात्तिक १३ गते । शिवनाथ धामको मेलाबाट फर्किने क्रममा मेलौली नगरपालिका–७ स्वाखानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
से १ ज ७३२ नम्बरको बालेरो जीप दुर्घटनामा परेर मेलौली नगरपालिका–२ दुर्गास्थान स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बल्देव बडुले जानकारी दिनुभयो।
घाइते हुनेमा जीप चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली–२ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका छोराहरू ३४ वर्षीय हरि पाण्डेय र २८ वर्षीय ओमप्रकाश पाण्डेय रहेका छन्। चालक बाहेक मृतक र घाइतेहरू एउटै परिवारका हुन्।
जीप सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








