बैतडी, कात्तिक १३ गते । बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। स्थानीयस्तरमा खेलाडीहरूको क्षमता विकास, प्रतिभा पहिचान र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलो पटक यस किसिमको बृहत् प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको एक विशेष समारोहबीच सुदूरपश्चिम प्रदेशकी आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बमले उद्घाटन गरिन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यमन्त्री बमले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्।
जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भूपेन्द्र चन्दका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न वडाबाट महिला तथा पुरुष टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। महिला र पुरुष दुवै समूहलाई समान पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
पुरस्कार राशि तथा सम्मान
प्रतियोगितामा विजेता तथा उत्कृष्ट हुने खेलाडीहरूका लागि निम्नानुसारको पुरस्कार राशि घोषणा गरिएको छ:
- प्रथम हुने टोली: रु. १,११,१११ (ट्रफी, मेडल र प्रमाणपत्र)
- द्वित्तीय हुने टोली: रु. ७७,७७७ (ट्रफी, मेडल र प्रमाणपत्र)
- तृतीय हुने टोली: रु. ४४,४४४ (ट्रफी, मेडल र प्रमाणपत्र)
- सर्वोत्कृष्ट खेलाडी (महिला/पुरुष): जनही रु. ७,७७७ (ट्रफी र प्रमाणपत्र)
- विधागत उत्कृष्टहरू (उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर/लिब्रो, सर्भर, उदीयमान खेलाडी र कोच): जनही रु. ५,५५५ (ट्रफी र मेडल)
यसका साथै, प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टोलीलाई मायाको चिनो र सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।









