बैतडी, साउन १७ गते । बैतडीमा ७६ प्रतिशत आमाले मात्रै शिशुलाई पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा बच्चा जन्माएका आमामध्ये २४ प्रतिशतले भने शिशुलाई जन्मदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यास अपनाएका छैनन्।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा तीन हजार ५४० जना आमाले शिशु जन्माएकामा दुई हजार ६९१ जनाले पूर्ण स्तनपान गराएका छन्। बाँकी ८४९ जना आमाले भने शिशुलाई जन्मेदेखि ६ महिनाको अवधिमा आमाको दूधबाहेक अन्य खानेकुरा पनि खुवाएको तथ्याङ्कमा उल्लेख छ।
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासलाई पूर्ण स्तनपान भनिन्छ। स्वास्थ्यकर्मीका अनुसार आमाको दूधमा शिशुको वृद्धि तथा विकासका लागि आवश्यक सम्पूर्ण पोषक तत्त्व हुने भएकाले उक्त अवधिसम्म अन्य कुनै खानेकुरा वा पानीसमेत दिन आवश्यक पर्दैन।
सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले आमाको दूधमै शिशुलाई आवश्यक पानीसमेत हुने भएकाले जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने बताउनुभयो।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तहअनुसार दशरथचन्द नगरपालिकामा ३५२ जना आमाले शिशु जन्माएकामध्ये ३१७ जनाले पूर्ण स्तनपान गराएका छन्। पाटन नगरपालिकामा ४०० आमामध्ये ३०१ जना र पुर्चौंडी नगरपालिकामा ४९५ आमामध्ये ३८४ जनाले पूर्ण स्तनपान गराएका छन्।
त्यसैगरी मेलौली नगरपालिकामा ३९१ आमामध्ये २१२ जनाले मात्रै पूर्ण स्तनपान गराएको तथ्याङ्क छ। डिलाशैनी गाउँपालिकामा ३०५ आमामध्ये २३४, दोगडाकेदार गाउँपालिकामा ३२० मध्ये २४९, सुर्नया गाउँपालिकामा ३०१ मध्ये २३२, पञ्चेश्वर गाउँपालिकामा ३०४ मध्ये २४६, शिवनाथ गाउँपालिकामा ३१० मध्ये २५४ तथा सिगास गाउँपालिकामा ३६२ मध्ये २६२ जनाले पूर्ण स्तनपान गराएका छन्।
स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले पूर्ण स्तनपान बालबालिकाको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण भएकाले यसको प्रवर्द्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ। आमाको दूधको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सप्ताह मनाइने गरिएको हो।
जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशीले शिशु जन्मेको एक घण्टाभित्रै बिगौती दूध खुवाउनुपर्ने र ६ महिनासम्म आमाको दूध मात्र दिनुपर्ने बताउनुभयो। उहाँले आमाको दूध शिशुको वृद्धि र विकासका लागि अमृतसरह भएकाले ६ महिनापछि मात्रै पूरक आहार सुरु गर्नुपर्ने उल्लेख गर्नुभयो।










