बैतडी । बैतडीको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका चार जना ज्येष्ठ नागरिकलाई विद्यालयमै बोलाएर टीका, फूलमाला र ढाकाटोपी लगाई सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो।
सम्मानित हुनेमा पाटन नगरपालिका–८ का ८६ वर्षीय जगदीशसिंह भाट, ८३ वर्षीय अजब सिंह महरा, ७५ वर्षीय गगन सिंह महरा र पाटन–९ का ७१ वर्षीय मोहन सिंह महरा हुनुहुन्छ। विद्यालयले २०७४ सालदेखि कुशेऔँसीका दिन बुवाहरू र मातातीर्थ औँसीका दिन आमाहरूलाई सम्मान गर्दै आएको अध्यक्ष भाटले बताउनुभयो। ज्येष्ठ नागरिकप्रति सम्मान बढाउनुका साथै विद्यार्थीमा अग्रजलाई सम्मान गर्ने संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।
“विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र सामाजिक संस्कार पनि सिकाउनुपर्छ,” अध्यक्ष भाटले भन्नुभयो, “त्यसैले विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको छ।” नमूना विद्यालयका रूपमा अघि बढिरहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पढाइसँगै विद्यार्थीलाई व्यवहारिक तथा सामाजिक ज्ञान दिने विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
सम्मानित ज्येष्ठ नागरिकहरूले विद्यालयले नयाँ पुस्तालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने संस्कार सिकाउने उद्देश्यले थालेको अभियानको प्रशंसा गर्दै धन्यवाद दिएका छन्।








