बैतडी, असाेज ३० गते । बैतडीको पाटन नगरपालिका–६ वडा कार्यालयले उदयदेव मन्दिरमा लाग्ने जात्रालाई लक्षित गरी विभिन्न उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ।
कार्तिक १ र २ गते उदयदेव मन्दिरको प्राङ्गणमा लाग्ने मेलालाई व्यवस्थित बनाउन तथा उपभोक्तालाई तोकिएको मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले मूल्यसूची सार्वजनिक गरेको हो। उक्त मूल्यसूची मेलाको अवधिभर लागू हुनेछ।
वडा कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सादा मिठाई र सादा जेरीको मूल्य प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, सादा खाना (खुराक) को मूल्य १५० रुपैयाँ र खसीको काटेको मासुको मूल्य प्रतिकेजी ८५० रुपैयाँ तोकिएको छ।
असोज २८ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य निर्धारण गरिएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्र सिंह विष्टले जानकारी दिनुभयो।
वडा कार्यालयले निर्धारित मूल्यसूचीबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै मेलाका क्रममा सोही मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ। मूल्य निर्धारणले जात्रामा हुने व्यापारलाई व्यवस्थित गर्नुका साथै उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।
निर्धारित मूल्यसूची
- सादा मिठाई: प्रतिकेजी रु. ३००
- सादा जेरी: प्रतिकेजी रु. ३००
- सादा खाना (खुराक): रु. १५०
- खसीको काटेको मासु: प्रतिकेजी रु. ८५०










