केशव भट्ट बैतडी । जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ। संघको ६ औं साधारणसभाबाट मंगलबार गोठलापानीमा सम्पन्न अधिवेशनले बिष्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रेमचन्द र अशोकबहादुर चन्द, सचिवमा देव महरा (भाइ) तथा कोषाध्यक्षमा सरस्वती खत्री बोहरा चयन हुनुभएको छ। अन्य सदस्यहरू पनि अधिवेशनबाट सर्वसम्मत चयन गरिएको संघले जनाएको छ।
नयाँ कार्यसमितिले जिल्लामा भलिबल खेलको विकास तथा विस्तारसँगै खेलाडीको क्षमता अभिवृद्धि, नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
जिल्लामा भलिबल खेलको गतिविधिलाई व्यवस्थित गर्दै नियमित प्रतियोगिता सञ्चालन, खेलाडी उत्पादन तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्न आवश्यक पहल गर्ने नवनिर्वाचित कार्यसमितिको प्रतिबद्धता छ।
अधिवेशनमा जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्द, कार्यालय प्रमुख तर्कराज जोशी तथा भलिबल प्रशिक्षक हरिसिंह भण्डारीलगायतको सहभागिता रहेको थियो।









