बैतडी, कार्तिक १८ गते । बैतडीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न स्थानका किसान व्यावसायिक उत्पादनमा जोडिन थालेका हुन् ।
यसैक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारीसहित कृषि ज्ञान केन्द्र बैतडीको प्राविधिक टोलीले सोमबार दशरथचन्द नगरपालिका–४ जर्गका व्यावसायिक किसानका तरकारी बारीमै पुगेर अनुगमन गरेको छ । अनुगमनका क्रममा प्राविधिक टोलीले तरकारी खेतीमा देखिने सामान्य रोग तथा कीराको प्रकोप नियन्त्रण गर्ने घरेलु विधिबारे किसानलाई जानकारी गराउनुका साथै कृषकहरुको हौसला बढाउन बारिमै पुगेको बताएका छन् ।
सामान्य समस्या देखिँदा घरायसी उपायबाटै नियन्त्रण गर्न सकिने विधिसँगै तरकारीको उत्पादन बढाउने र लामो समयसम्म उत्पादन कायम राख्ने प्राविधिक उपायबारे समेत किसानलाई जानकारी दिइएको कृषि ज्ञान केन्द्र बैतडीका प्राविधिक महेश पाण्डेले बताउनुभयो । किसानका खेतबारीमै पुगेर गरिएको अनुगमनले खेतीमा देखिएका समस्या पहिचान गर्न र उत्पादन सुधारका लागि आवश्यक प्राविधिक परामर्श दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैतडीका विभिन्न स्थानमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । दशरथचन्द नगरपालिका–४ जर्ग, पाटन नगरपालिका–८ खोड्पे, सुर्नया गाउँपालिका–२ ग्वानीलगायत डिलासैनी, सिगास र शिवनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत तरकारी खेती हुँदै आएको छ ।
नगदेबालीका रूपमा रहेको तरकारी खेतीबाट केही किसानले मासिक छदेखि आठ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । जर्गका किसान दत्तराम पाण्डेले तरकारी खेतीबाट मात्रै वार्षिक छदेखि आठ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । यस्तै, पाटन नगरपालिका–८ का किसान जनक चन्दले वार्षिक आठदेखि १० लाख रुपियाँसम्मको तरकारी बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

तरकारी खेतीबाट राम्रो आम्दानीको सम्भावना देखिए पनि उत्पादित कृषि उपजको भण्डारण र बजारीकरण भने किसानका लागि चुनौतीका रूपमा रहेको छ । किसानले गाउँगाउँसम्म सडकको सहज पहुँच र शीतभण्डारको उचित व्यवस्था हुन सके उत्पादन सुरक्षित राख्न तथा बजारको मागअनुसार बिक्री गर्न सहज हुने बताएका छन् । त्यसैगरी, स्थानीय उत्पादनको बजारीकरण, किसानको आयआर्जन र रोजगारी प्रवर्द्धनका लागि जिल्लाका विभिन्न बजार केन्द्रमा नियमित साप्ताहिक हाटबजार सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीयस्तरमै कृषि उपजको खरिदबिक्री गर्ने व्यवस्था हुन सके किसानले उत्पादनको उचित बजार पाउनुका साथै उपभोक्ताले पनि ताजा स्थानीय उत्पादन उपभोग गर्न पाउनेछन् ।
कृषि उत्पादन बढाउन प्राविधिक सेवा, सडक पहुँच, भण्डारण र बजार व्यवस्थापनलाई सँगसँगै अघि बढाउन सके बैतडीमा व्यावसायिक तरकारी खेतीको सम्भावना थप विस्तार हुने देखिन्छ ।












