केशव भट्ट,बैतडी, भदौ २४ गते ।
देशभर चर्किँदै गएको जेनजी पुस्ताको आन्दोलनअन्तर्गत बैतडीमा पनि प्रदर्शन भएको छ । सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गरेको दमनको विरोधस्वरूप स्थानीय युवा तथा विद्यार्थी स्वस्फूर्त रुपमा सडकमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरुले “विद्यार्थी मार्न पाइँदैन”, “भ्रष्टाचारी सरकार चाहिँदैन” जस्ता नाराबाजी गर्दै सदरमुकाम गोठालापानीमा प्रदर्शन गरेका थिए । उनीहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि समेत पुगेका थिए ।
प्रदर्शनलाई शान्तिपूर्ण राख्ने र आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी प्रदर्शनकारीहरुले दिएका छन् ।
सदरमुकामसँगै जिल्लाको पाटन, सतबाँझ, मुस्याचोर, देहीमाण्डौं, सिल्लेगडा लगायतका क्षेत्रमा समेत प्रदर्शन गरिएको छ । दशरथचन्द नगरपालिका–१ मुस्याचोरमा सडकमा टायर बालेर प्रदर्शन गरिएको छ।
सरकारी दमनका कारण १९ जनाको ज्यान गएको घटनाप्रति आक्रोश व्यक्त गर्दै जेनजी पुस्ताको आन्दोलन थप चर्किएको स्थानीय युवाहरुको भनाइ छ ।










