केशवभट्ट,बैतडी,भदौ २ गते ।
सुदूरपश्चिमको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउँदै आएकी एक अनमी असामान्य अवस्थामा मृत फेला परेकी छिन् । पुर्चौण्डी नगरपालिका–१० विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफैं कोठामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
स्वास्थ्यचौकी कार्यस्थल घरदेखि टाढा भएकाले उनले स्थानीय स्तरमै कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । जीवनलाई समुदायको सेवासँग जोडेर अघि बढाएकी कुँवर गत वैशाखमै वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनका श्रीमान नेपाली सेनामा कार्यरत छन् ।
घटना सार्वजनिक भएलगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
समुदायमा खटिएर स्वास्थ्य सेवा पुर्याउँदै आएकी युवा अनमीको असामान्य मृत्युले गाउँमा स्तब्धता छाएको छ ।










