बैतडी – दसैँ, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न बैतडीमा चार सय प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याउँदै जिल्लाभर प्रहरी खटाएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताउनुभयाे ।
चाडपर्वका बेला मन्दिर तथा शक्तिपीठमा लाग्ने जात्रा र मेलालाई सुरक्षित बनाउन ती क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ । जात्रा तथा मेला शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको तिमिल्सैनाले जानकारी दिनुभयाे ।
चाडपर्वका समयमा बैंक तथा वित्तीय संस्थाको सुरक्षा र जुवातासजन्य गतिविधि नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । यस्ता गतिविधि हुन नदिन प्रहरीले निगरानी बढाएको जनाएको छ ।
यात्रुको चाप बढ्ने समयलाई ध्यानमा राख्दै जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा असुल्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको तिमिल्सैनाले बताउनुभयाे ।
यात्रु सहायता कक्षमार्फत यात्रुका समस्या सम्बोधन गर्नुका साथै यातायातलाई व्यवस्थित र सुरक्षित बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









