बैतडी, भदौ २७ गते । नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टीभित्र एकता कायम नभएसम्म वडा तथा पालिका अधिवेशन नगर्ने निर्णय गरेको छ ।
शनिबार बसेको गाउँपालिका कार्यसमितिको बैठकले पार्टी पूर्णरूपमा एकढिक्का भएर नआएसम्म कुनै पनि तहको अधिवेशनमा सहभागी नहुने निर्णय गरेको हो ।
कांग्रेस पञ्चेश्वर गाउँपालिका सभापति रामबहादुर चन्दका अनुसार बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो । उहाँले भन्नुभयो, “पार्टी एकढिक्का भएर नआएसम्म कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय गरेका छौँ ।”
बैठकमा गाउँपालिकाका चार वटै वडाका सभापति तथा स्थानीय तह निर्वाचन २०७४ र २०७९ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेताहरूको सहभागिता रहेको सभापति चन्दले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेका छन् । संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।
यस्तै, पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
यसैबीच, शुक्रबार कांग्रेसका दुई दर्जन नेताहरूले संयुक्त अपिल जारी गर्दै दुवै समूहलाई आ–आफ्ना अधिवेशन कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि वार्ता गर्न आग्रह गरेका थिए ।






