बैतडी । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि शहीद दशरथ चन्द स्मृति प्रतिष्ठान कार्यसमितिले आर्थिक सहयोग गरेको छ ।
प्रतिष्ठानले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि १० हजार ५५ रुपैयाँ सहयोग गरेको हो । प्रतिष्ठानका सचिव विष्णा चन्दका अनुसार उक्त रकम बिहीबार राष्ट्रिय वाणिज्य बैंक, बैतडी शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
विपद्को कठिन समयमा प्रभावित नागरिकलाई केही भए पनि राहत पुग्ने उद्देश्यले प्रतिष्ठानका तर्फबाट सहयोग गरिएको जनाइएको छ ।
प्रतिष्ठानले मानवीय सेवाको भावनाका साथ सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहभागिता जनाउँदै आएको जनाएको छ ।








