बैतडी, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका तीन जना सम्पर्कमा आएका छन् भने अन्य नौ जना अझै सम्पर्कविहीन रहेका छन् ।
बाढी आएपछि बुधबार बिहानदेखि बैतडी घर भएका १२ जना सम्पर्कविहीन भएकोमा तीन जना सम्पर्कमा आएका हुन् । सम्पर्कमा आउनेमा अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत डिलाशैनी गाउँपालिकाका विशाल बोहरा, प्रकाश बोहरा र कृष्णसिंह धामी रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा डिलाशैनी गाउँपालिकाका तीन जना, सुर्नया गाउँपालिकाका दुई जना तथा सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक–एक जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहका अनुसार सुर्नया गाउँपालिका–६ मोतीनगरका ३१ वर्षीय हरिश चन्द, सुर्नया–५ बिष्टपालीका २५ वर्षीय केशव बिष्ट, डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ३२ वर्षीय पूर्णसिंह धामी र डिलाशैनी–२ छेपट्टाका सशस्त्र प्रहरी जवान बिनिता बोहरा अझै सम्पर्कविहीन छन् ।
यस्तै, दोगडाकेदार गाउँपालिका–२ का प्रहरी सहायक हवल्दार हिक्मत महरा, पञ्चेश्वर गाउँपालिका–६ बिजुलका ४० वर्षीय देवबहादुर चन्द, सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर तथा दलबहादुर चन्द र जयधन जोशी पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी जवान बिनिता बोहरा सशस्त्र प्रहरीको बिओपी टिमुरेमा कार्यरत थिइन् भने हिक्मत महरा रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए । लक्ष्मण ऐर इलामबाट परीक्षा दिन नुवाकोट गएको समयमा सम्पर्कविहीन भएको बताइएको छ ।
सम्पर्कविहीन भएकाहरूको अवस्था र खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजना तथा सुरक्षा निकायमा कार्यरत बैतडीका नागरिकको अवस्थाबारे परिवारजनमा समेत चिन्ता बढेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका बैतडीका नागरिकको एकिन डाटा नभएकाले संख्या थपघट हुन सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
रसुवा बाढीः बैतडीका तीन जना सम्पर्कमा, नौ जना अझै बेपत्ता
सेयर गर्नु हाेस
सम्बन्धित समाचार








