बैतडी, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका तीन जना सम्पर्कमा आएका छन् भने अन्य नौ जना अझै सम्पर्कविहीन रहेका छन् ।
बाढी आएपछि बुधबार बिहानदेखि बैतडी घर भएका १२ जना सम्पर्कविहीन भएकोमा तीन जना सम्पर्कमा आएका हुन् । सम्पर्कमा आउनेमा अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत डिलाशैनी गाउँपालिकाका विशाल बोहरा, प्रकाश बोहरा र कृष्णसिंह धामी रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा डिलाशैनी गाउँपालिकाका तीन जना, सुर्नया गाउँपालिकाका दुई जना तथा सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक–एक जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहका अनुसार सुर्नया गाउँपालिका–६ मोतीनगरका ३१ वर्षीय हरिश चन्द, सुर्नया–५ बिष्टपालीका २५ वर्षीय केशव बिष्ट, डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ३२ वर्षीय पूर्णसिंह धामी र डिलाशैनी–२ छेपट्टाका सशस्त्र प्रहरी जवान बिनिता बोहरा अझै सम्पर्कविहीन छन् ।
यस्तै, दोगडाकेदार गाउँपालिका–२ का प्रहरी सहायक हवल्दार हिक्मत महरा, पञ्चेश्वर गाउँपालिका–६ बिजुलका ४० वर्षीय देवबहादुर चन्द, सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर तथा दलबहादुर चन्द र जयधन जोशी पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी जवान बिनिता बोहरा सशस्त्र प्रहरीको बिओपी टिमुरेमा कार्यरत थिइन् भने हिक्मत महरा रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए । लक्ष्मण ऐर इलामबाट परीक्षा दिन नुवाकोट गएको समयमा सम्पर्कविहीन भएको बताइएको छ ।
सम्पर्कविहीन भएकाहरूको अवस्था र खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजना तथा सुरक्षा निकायमा कार्यरत बैतडीका नागरिकको अवस्थाबारे परिवारजनमा समेत चिन्ता बढेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका बैतडीका नागरिकको एकिन डाटा नभएकाले संख्या थपघट हुन सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
रसुवा बाढीः बैतडीका तीन जना सम्पर्कमा, नौ जना अझै बेपत्ता
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









