spot_img

पोल र तार पुगे, उज्यालो पुगेन

- Advertisement -

बैतडी, भदौ १० गते । बैतडीको पुर्चौडीमा विद्युत् विस्तारको काम सुरु भएको वर्षौं बितिसक्दा पनि स्थानीयवासीले अझै विद्युत् सेवा पाउन सकेका छैनन् । गाउँमा विद्युत्‌का पोल, तार र अन्य सामग्री पुगे पनि आयोजना पूरा नहुँदा स्थानीयवासीको उज्यालो पाउने आशा भने अझै अधुरै छ ।

विद्युत् विस्तारका लागि ल्याइएका पोल तथा तार लामो समयदेखि विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका स्थानीयवासीले बताएका छन् । कतिपय पोल बाटोछेउ र झाडीमा थुपारिएका छन् भने विद्युत्का तारका ठूला रीङसमेत खुला ठाउँमा अव्यवस्थित रूपमा राखिएका छन् । केही ठाउँमा पोल गाडिए पनि तार जडानलगायतका बाँकी काम पूरा हुन सकेको छैन ।

स्थानीयवासीका अनुसार विद्युत् विस्तारको काम कहिले पूरा हुन्छ र घरमा बत्ती कहिले बल्छ भन्ने अझै निश्चित छैन । पोल र तार आएको धेरै भयो, तर बत्ती बल्ने दिन कहिले आउँछ भन्ने थाहा छैन, स्थानीय लक्ष्मण बोहराले भन्नुभयो । स्थानीय तहले निर्माण सामग्री वर्षौंसम्म अलपत्र पर्नु र आयोजना सम्पन्न नहुनुले सरकारी लगानीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको जनाएको छ । पुर्चौडी नगरपालिकाका सब–इन्जिनियर रिगेश धानुकले विद्युत् विस्तारका लागि ल्याइएका सामग्री सुरक्षित र व्यवस्थित रूपमा राख्न तथा बाँकी संरचना निर्माण र जडानको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् ।

केन्द्रीय विद्युत् प्राधिकरणसँग ठेक्का सम्झौता गरी एआईबी परियोजनामार्फत काम सुरु भएको बताइए पनि ठेकेदारको ढिलासुस्ती र सम्बन्धित निकायको प्रभावकारी अनुगमनको अभावले आयोजना प्रभावित भएको स्थानीय दिपक बोहराले बताउनुभयो । स्थानीयवासीले विद्युत् विस्तारको वास्तविक अवस्था, ढिलाइको कारण र जिम्मेवार पक्षबारे छानबिन गरी काम तत्काल अघि बढाउन माग गरेका छन् ।

यता विद्युत् वितरण केन्द्र बैतडीले भने पुर्चौडीमा विद्युत् विस्तारमा भएको ढिलाइबारे आफूलाई विस्तृत जानकारी नभएको र अहिले आएर एआईबी परियोजनाका प्रमुख संग कुरा भइरहेको र बाकी काम तत्काल अघि बढाइने बताउँदै यसबारे थप बुझ्नथालेको जनाएको छ । विद्युत् पहुँचलाई ग्रामीण विकासको आधार मानिए पनि पुर्चौडीमा वर्षौंअघि पुगेका पोल र तार नै उज्यालोको प्रतीक्षामा रहनुले विकास आयोजनाको कार्यान्वयन र अनुगमनमाथि गम्भीर प्रश्न उठाएको छ ।

बैतडीमा हालसम्म २८ हजार घरधुरीमा राष्ट्रिय प्रशारणको विद्युत् पुगेको छ भने, ७ हजार घरमा सामुदायिक विद्युतीकरण संस्थाको बत्ती बलेको विद्युत् कार्यालय बैतडीका कार्यालय प्रमुख सुजन आचार्यले जानकारी दिनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img