बैतडी, भदाै ९ गते — बैतडीमा आगलागी हुँदा दुई तले चारकोठे घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित भण्डारीगाउँका जयबहादुर भण्डारी र मदन भण्डारीको घरमा मंगलबार दिउँसो आगलागी भएको हो। वडा अध्यक्ष सूर्यबहादुर बोहराका अनुसार दिउँसो करिब २ बजेतिर घरमा आगो लागेको थियो।
आगलागी हुँदा घरधनी जयबहादुर, मदनलगायत गाउँका अधिकांश पुरुष मलामी गएका थिए। घरमा कोही नभएका कारण समयमै आगो नियन्त्रणमा लिन नसक्दा घर पूर्ण रूपमा जलेर नष्ट भएको वडा अध्यक्ष बोहराले बताए।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडा अध्यक्ष बोहराले बताए। घर जलेर नष्ट भएपछि भण्डारी परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।








