बैतडी, भदौ ५ गते । बैतडीमा जंगली जनावरले मकैबालीमा क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा बाँदर, बँदेल र दुम्सीले मकैबाली नष्ट गर्न थालेपछि किसानलाई बाली जोगाउन समस्या भएको हो ।
सिगास गाउँपालिका–३ का स्थानीय पदमराज अवस्थीका अनुसार दिउँसो बाँदर र रातिको समयमा दुम्सीले मकैबालीमा क्षति पुर्याउने गरेको छ । जंगली जनावरबाट बाली जोगाउन किसान रातदिन खेतमा निगरानी गर्न बाध्य भएका छन् । खेतबारीमा टहरा बनाएर पहरा दिँदा समेत बाली जोगाउन नसकिएको किसानको गुनासो छ । पुर्चौडी नगरपालिका–७ का किसान जनक ऐरले बँदेलले मकैबालीमा क्षति पुर्याउन थालेपछि उत्पादन घट्ने चिन्ता बढेको बताउनुभयो । सिगास गाउँपालिका–९ का किसान जनक बोहराले मेहनत गरेर लगाएको बाली जोगाउन रातभर खेतमै जाग्राम बस्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
जंगली जनावरसँगै हावाहुरी, रोग तथा किराको प्रकोपका कारण पनि मकैबालीमा क्षति पुग्ने गरेको छ । बैतडीमा करिब १२ हजार हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ । विभिन्न कारणले बालीमा क्षति भइरहे पनि किसानले कृषि बीमातर्फ भने चासो देखाएका छैनन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार बाली बीमा निःशुल्क गर्ने व्यवस्था भए पनि गत आर्थिक वर्षमा जिल्लामा बालीतर्फ एउटा पनि बीमा भएको छैन । पशुपन्छीतर्फ भने छ सय वटा बीमा गरिएको छ । बाली बीमा गरेमा जंगली जनावरलगायत विभिन्न कारणले हुने क्षतिबाट किसानलाई राहत पुग्ने उहाँले बताउनुभयो ।








