बैतडी, भदौ ५ गते । बैतडीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० वटा सवारी साधन साउन महिनामा कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती सवारी साधनलाई कारबाही गरिएको हो ।
कारबाहीमा परेका सवारी साधनबाट जरिवानाबापत दुई लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।
साउन महिनामा जिल्लामा दुईवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
यसैबीच, अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले एक महिनामा २० जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।








