spot_img

दिगो र व्यवस्थित सडक निर्माण नहुँदा नागरिकलाई सास्ती

- Advertisement -

बैतडी, साउन २५ गते । सडक सञ्जाल विस्तार हुँदै गएपनि दिगो र व्यवस्थित सडक निर्माण नहुँदा बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामीण क्षेत्रका नागरिकले वर्षेनी सास्ती खेप्नुपरेको छ ।

बर्खा सुरु भएसँगै सडक हिलाम्मे हुने, पहिरो खस्ने, सडक भासिने तथा पानीको उचित निकास नहुँदा स्थानीय तहका केन्द्रदेखि जिल्ला सदरमुकाम र जिल्ला बाहिर जोड्ने अधिकांश सडकमा आवतजावत जोखिमपूर्ण बनेको हो ।

विशेषगरी कच्ची तथा स्तरोन्नतिको क्रममा रहेका सडकमा वर्षाको असर बढी देखिएको छ । कतिपय सडकमा नाली तथा पानी निकासको उचित व्यवस्था नहुँदा वर्षाको पानी सडकबाटै बग्ने गरेको छ भने पहिरो नियन्त्रणका संरचना कमजोर हुँदा सानोतिनो वर्षामै सडक अवरुद्ध हुने गरेका छन् । निर्माण सम्पन्न भइसकेका सडकमा समेत नियमित मर्मतसम्भार नहुँदा समस्या दोहोरिने गरेको स्थानीयवासीको गुनासो छ ।

सडकको यस्तो अवस्थाले ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवन नै प्रभावित हुने गरेको छ । उपचारका लागि अस्पताल पुग्नुपर्ने बिरामीदेखि विद्यालय जाने विद्यार्थी, सरकारी सेवा लिन सदरमुकाम पुग्ने सेवाग्राही तथा कृषि उपज बजारसम्म लैजाने किसानसम्मले वर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ ।

जिप चालक धर्मसिंह महराले बर्खामा ग्रामीण सडकमा सवारी सञ्चालन गर्नु निकै चुनौतीपूर्ण हुने बताउनुभयो । सडक हिलाम्मे हुँदा सवारीसाधन चिप्लिने, माथिबाट पहिरो खस्ने तथा सडक भासिने जोखिम रहने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर अत्यन्त सावधानीपूर्वक सवारी चलाउनुपर्ने उहाँले बताउनुभयो । महराले भन्नुभयो, “सडकको अवस्थाका कारण मोटरसाइकल चालक र यात्रु झन् बढी जोखिममा पर्ने गरेका छन् ।”

पुर्चौंडी नगरपालिका–२ का हर्कबहादुर बोहराले सडक निर्माण समयमै सम्पन्न नहुनु, बजेट अभाव र प्रभावकारी अनुगमन नहुनुका कारण नागरिकले हरेक वर्ष समस्या भोग्नुपरेको बताउनुभयो । निर्माण सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न नहुँदा वर्षा लाग्नेबित्तिकै सडक अवरुद्ध हुने र कतिपय अवस्थामा दुर्घटनासमेत हुने गरेको उहाँको भनाइ छ ।

स्थानीय व्यवसायी सुरेश बिष्टले ठेक्का लिएपछि कामलाई निरन्तरता नदिने र निर्माणस्थलमै काम अलपत्र छाड्ने प्रवृत्तिले सडकको समस्या झन् जटिल बनाएको बताउनुभयो। सुरुमा काम गर्ने उत्साह देखाए पनि पछि निर्माण व्यवसायी सम्पर्कमा नआउने वा काम अधुरै छाड्ने अवस्थाले सडक वर्षौँसम्म अधुरो रहने गरेको उहाँले बताउनुभयो ।

सडक निर्माणका क्रममा पर्याप्त नाली, पानी निकास, पर्खाल तथा पहिरो नियन्त्रणका संरचनालाई प्राथमिकता नदिँदा प्रत्येक वर्षायाममा सडक क्षतिग्रस्त हुने समस्या दोहोरिने गरेको स्थानीयवासीहरु बताउछन् । निर्माण सम्पन्न भएका सडकको समेत नियमित मर्मत नहुँदा सामान्य वर्षामै सडकको अवस्था बिग्रने गरेको उहाहरुको गुनासो छ ।

तर सडक सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायले नियमित मर्मत तथा आकस्मिक रूपमा सडक खुलाउने तयारीमै रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ।

अनारखोली–झुलाघाट, खोड्पे–बिथ्थड तथा सतबाँझ–गोकुले सडकखण्डलगायत करिब १६५ किलोमिटर सडकमा नियमित मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयपाटन बैतडीका प्रमुख किरण सुवेदीले जानकारी दिनुभयो ।

वर्खाका बेला पहिरोका कारण सडक जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले झुलाघाट, सतबाँझ र बिथ्थड क्षेत्रमा डोजर तथा अन्य आवश्यक उपकरण तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ उपकरण परिचालन गरी यातायात सञ्चालनमा ल्याउने गरिएको उहाँले बताउनुभयो ।

यता पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख सङ्गीत रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभित्र ५२ किलोमिटर सडक निर्माणको काम अघि बढाइएको थियो । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत नौ किलोमिटर सडक कालोपत्रे भएको तथा अन्य स्थानमा पहिरो नियन्त्रणका पर्खाल, नाली निर्माण र पहिरो पन्छाउने कामसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

वर्षायाममा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले समेत सावधानी अपनाउन आग्रह गरेको छ । लगातार वर्षा भएका बेला ग्रामीण कच्ची सडकमा रातिको समयमा तथा अत्यधिक वर्षा भइरहेका बेला दिउँसोसमेत सवारी सञ्चालन नगर्न प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

सडकको खराब अवस्था र जोखिमपूर्ण यात्रा दुर्घटनाको कारणसमेत बन्ने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्ला तीन वर्षमा जिल्लामा ३४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् । वर्षेनी दुर्घटनाको दर बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिनुभयो ।

सडकको खराब अवस्थाको प्रत्यक्ष असर स्वास्थ्य सेवामा समेत परेको छ । बर्खाका बेला बिरामी, गर्भवती महिला तथा आकस्मिक अवस्थाका बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन कठिन हुने गरेको एम्बुलेन्स चालक रोशन चन्दले बताउनुभयो । सडकमा हिलो तथा पहिरोका कारण कतिपय स्थानमा एम्बुलेन्स सञ्चालनमै समस्या हुने गरेको उहाँले बताउनुभयो।

शिक्षा क्षेत्रमा समेत यसको प्रभाव देखिएको छ । सिगास गाउँपालिका–२ स्थित अर्जुन माध्यमिक विद्यालय गाजरीमा अध्ययनरत छात्रा जानकी धामीले बर्खाका बेला खोला तरेर विद्यालय पुग्नुपर्ने तथा गाउँका सडकमा हिँडडुल गर्नसमेत कठिन हुने गरेको अनुभव सुनाउनुभयो ।

बैतडी नागरिक समाजका अध्यक्ष गणेश ठकुराठीले सडक निर्माणमा हुने ढिलासुस्ती र कमजोरी अन्त्य गर्न सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । राजनीतिक पहुँच र प्रभावका आधारमा ठेक्का पाउने तर काम समयमै सम्पन्न नगर्ने प्रवृत्ति अन्त्य गर्न प्रभावकारी अनुगमन र कडाइ आवश्यक रहेको उहाँको भनाइ छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सडक सञ्जाल विस्तारसँगै यातायातको पहुँच बढे पनि सडकको गुणस्तर, दिगोपन र नियमित मर्मतसम्भार भने अझै चुनौतीका रूपमा रहेको छ । सडक निर्माणलाई केवल ट्र्याक खोल्ने वा कालोपत्रे गर्ने कामका रूपमा मात्र नभई पानी निकास, पहिरो नियन्त्रण, सडक सुरक्षाका संरचना र नियमित मर्मतसम्भारसहितको दीर्घकालीन पूर्वाधारका रूपमा अघि बढाउनुपर्ने देखिएको जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामिले बताउनुभयो ।

वर्षेनि वर्खा सुरु भएपछि सडक बिग्रने र नागरिकले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्यका लागि योजना छनोटदेखि निर्माण र मर्मतसम्मका काममा गुणस्तर कायम गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

निर्माण व्यवसायीलाई तोकिएको समयभित्र काम सम्पन्न गराउने, प्राविधिक अनुगमन प्रभावकारी बनाउने तथा निर्माण सम्पन्न भएका सडकको नियमित मर्मतसम्भार गर्ने हो भने वर्षायाममा दोहोरिने समस्या न्यूनीकरण गर्न सकिने देखिन्छ । ग्रामीण सडकलाई वर्षभरि सुरक्षित र सञ्चालनयोग्य बनाउन सम्बन्धित निकायको नियमित निगरानी आवश्यक देखिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img