बैतडी, असार २६ गते – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको ४२औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाले संगठन सुदृढीकरणसँगै जिल्ला अस्पतालमा सञ्चालित ब्लड बैंकलाई थप प्रभावकारी बनाउने तथा प्रत्येक स्थानीय तहमा रक्तदाता समूह विस्तार गर्ने रणनीति अघि सारेको छ।
साधारण सभाले कार्यवाहक मन्त्री सहदेव भट्टले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र उपकोषाध्यक्ष सुदर्शन लेखकले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको शाखा सभापति विष्णुदत्त अवस्थीले जानकारी दिनुभयो।
सभामा उत्कृष्ट कार्यसम्पादन गर्ने उपशाखा तथा संस्थालाई सम्मान गरिएको थियो। जीवनरक्षा क्षेत्रमा उत्कृष्ट योगदानका लागि खोड्पे उपशाखा, सदस्यता विस्तारमा गाँजरी उपशाखा र जुनियर गतिविधिमा शिवनाथ उपशाखालाई प्रमाणपत्रसहित सम्मान गरिएको सभापति अवस्थीले बताउनुभयो।
त्यसैगरी जुनियर रेडक्रस सर्कल परिचालनमा सक्रिय भूमिका निर्वाह गरेको दशरथचन्द माध्यमिक विद्यालय, सुन्दरखालीलाई सम्मान गरिएको स्वयंसेवक कुन्ती भट्टले बताउनुभयो। रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकमा कार्यरत ल्याब असिस्टेन्ट गंगादत्त जोशीलाई पनि सम्मान गरिएको थियो।
प्राथमिक उपचार तथा रेडक्रसका विभिन्न मानवीय गतिविधिमा सक्रिय योगदान पुर्याउने १० जना स्वयंसेवकलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा मेलौलीका कुन्ती भट्ट र रामेश्वरी ठकुराठी, सुर्नयाका जगदीश बिष्ट, रामबहादुर कुँवर र देव महरा, पाटनकी द्रोपती ऐर तथा दशरथचन्द नगरपालिकाका रेजिना टेलर, मुस्कान धामी र सुरज चन्द रहेका छन्।
यसैबीच, सिगास गाउँपालिकालाई रेडक्रसको संस्थागत सदस्यता प्रदान गरिएको छ। यसअघि सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाले संस्थागत सदस्यता प्राप्त गरिसकेको रेडक्रस बैतडीले जनाएको छ।
साधारण सभाले जिल्ला अस्पतालमा रेडक्रसको व्यवस्थापनमा सञ्चालित ब्लड बैंकलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। रगतको अभाव हुन नदिन जिल्लाका प्रत्येक पालिकामा कम्तीमा १० जना नियमित रक्तदाता तयार गर्ने रणनीति अवलम्बन गरिएको सभापति अवस्थीले बताउनुभयो।
सभापति विष्णुदत्त अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, रेडक्रसका पदाधिकारी, उपशाखाका प्रतिनिधि, स्वयंसेवक तथा सरोकारवालाको सहभागिता रहेको थियो।










