बैतडी, असार १९ गते। बैतडीका तीन जना कृषक ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित भएका छन्।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रमअन्तर्गत जिल्लाका उत्कृष्ट तीन कृषकलाई जनही २५ हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा दोसल्लासहित सम्मान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो।
पुरस्कार प्राप्त गर्नेमा सुर्नया गाउँपालिका–६ खर्काधारका रामदत्त अवस्थी, दशरथचन्द नगरपालिका–२ जोलघट्टका अजबहादुर बोहरा र दशरथचन्द नगरपालिका–५ पल्लाचौंडालीका वासुदेव भट्ट रहेका छन्।
कृषि ज्ञान केन्द्रका अनुसार पुरस्कारका लागि आवेदन दिएका छ जना कृषकमध्ये मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन जनालाई छनोट गरिएको हो। मन्त्रालयको कार्यक्रमअनुसार प्रत्येक वर्ष जिल्लाका उत्कृष्ट कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ।
पुरस्कृत अवस्थी लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ भने बोहरा आलुखेती र भट्ट मौरीपालन व्यवसायमा सक्रिय हुनुहुन्छ। कृषकलाई व्यावसायिक कृषि पेसाप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो।










