नेपाली कांग्रेस बैतडीले पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्लाभर नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरेको छ।
अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा कार्यक्रम आयोजना गरी नयाँ सदस्यता वितरणसँगै पुराना सदस्यको सदस्यता अद्यावधिक गर्ने कार्य भइरहेको छ।
कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दका अनुसार युवाको सहभागिता बढाउने उद्देश्यले ३५ वर्षमुनिका युवालाई विशेष प्राथमिकतामा राखेर नयाँ क्रियाशील सदस्यता वितरण भइरहेको छ।
असार १५ गतेदेखि सुरु भएको अभियान असार १९ गतेसम्म सञ्चालन हुनेछ। केन्द्रीय प्रतिनिधि सुशीला मिश्र भट्टको उपस्थितिमा स्थानीय तहस्तरमा अभियान सञ्चालन भइरहेको कांग्रेसले जनाएको छ।
यसैबीच, यसअघि विभिन्न कारणले सदस्यता अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यलाई पनि तत्काल सदस्यता नवीकरण गर्न पार्टीले आग्रह गरेको छ।










