बैतडी, असार ६ गते । बैतडीको पाटन नगरपालिका–९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय, हुक्केडाँडाको विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। शनिबार आयोजित अभिभावक भेलाले प्रेमसिंह भाटलाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः चयन गरेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महरा का अनुसार अभिभावक भेलाबाट नयाँ कानुनी व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो। नेपाल सरकारले शिक्षा ऐनमा संशोधन गरी विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी नयाँ व्यवस्था लागू गरेपछि सोही प्रावधानअनुसार समिति पुनर्गठन गरिएको बताइएको छ।
वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्ययन–अध्यापन हुँदै आएको छ। विद्यालयमा १९८ जना विद्यार्थी अध्ययनरत रहेका छन्।
नवनिर्वाचित समितिमा पार्वती भाट, जयन्ती महरा र चन्द्रसिंह महरा सदस्य चयन भएका छन् भने प्रधानाध्यापक प्रकाशसिंह महरा सदस्य–सचिव रहेका छन्।
विद्यालय कर्मचारी गोपालसिंह महराका अनुसार प्रेमसिंह भाटको नेतृत्वमा पहिलो पटक वि.सं. २०७२ मा विद्यालय व्यवस्थापन समिति गठन भएको थियो। त्यसयता निरन्तर नेतृत्व सम्हाल्दै आएका भाट यसपटकको चयनसँगै छैटौँ पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छन्।
यसैबीच विद्यालयको समग्र विकास, व्यवस्थापन तथा शैक्षिक उन्नयनका लागि सुझाव प्रदान गर्ने उद्देश्यले सल्लाहकार समिति पनि गठन गरिएको छ। वडा अध्यक्ष कालु सिंह भाट को अध्यक्षतामा गठित समितिमा वडा नं. ८ का वडा सदस्य तथा श्री शिगास माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णसिंह महरा र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णसिंह महरा सदस्य रहेका छन्।
अभिभावक रामसिंह महराले प्रेमसिंह भाटको नेतृत्वमा विद्यालयले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँका अनुसार विद्यालयको कक्षास्तर विस्तार हुनुका साथै पूर्वाधार विकास र शैक्षिक वातावरण सुधारका विभिन्न कार्य सफलतापूर्वक सम्पन्न भएकाले अभिभावकहरूले पुनः सर्वसम्मत रूपमा भाटलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्।
अभिभावक भेलामा वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउने अपेक्षासहित नयाँ समिति गठन गरिएको विद्यालयले जनाएको छ।








