बैतडी, असार ६ गते । बैतडीको सुर्नया गाउँपालिका लाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप तालिकाअनुसार खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महरा का अनुसार जन्मेदेखि १५ महिनासम्मका ३२२, १६ महिनादेखि २३ महिनासम्मका १८७ तथा २४ महिनादेखि ५९ महिनासम्मका ९०६ बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सबै खोप प्राप्त गरेको पुष्टि भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई बिसिजी, डिपीटी, हेपबी–हिब, पिसिभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर र जेईलगायतका खोप प्रदान गरिँदै आएको छ।
गाउँपालिकाका सबै आठवटै वडा यसअघि नै पूर्ण खोप सुनिश्चित वडा घोषणा भइसकेकाले पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो। गाउँपालिकाभित्र रहेका २५ वटा खोप केन्द्रमार्फत नियमित रूपमा बालबालिकालाई खोप सेवा उपलब्ध गराइँदै आएको छ।
घोषणा कार्यक्रममा आठवटै वडालाई पूर्ण खोप सुनिश्चित वडाको प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, पूर्ण खोप सुनिश्चित वडा घोषणा अभियानमा योगदान पुर्याएका ६६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित वडामै सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिनुभयो।
कार्यक्रममा पालिका खोप समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर ले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा जोड दिइने बताउनुभयो।










