बैतडी, असार १ गते । स्तनपानको संरक्षण, प्रवद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि बैतडीमा सरोकारवाला निकायबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले जिल्ला अस्पताल गोठलापानीमा आयोजना गरेको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन तथा स्तनपानसम्बन्धी सरोकारवालासँगको अभिमुखीकरण’ कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य संस्था, उद्योग–व्यवसायी, नागरिक समाज तथा स्थानीय मेडिकल व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मणिराज न्यौपाने, जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्विन्द जोशी, स्वास्थ्य कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए ।
अभिमुखीकरणमा स्तनपानको संरक्षण र प्रवद्र्धन बाल तथा मातृ स्वास्थ्य सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने सामग्रीको अनियन्त्रित बिक्री–वितरण रोक्न कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको थियो । सहभागीहरूले स्तनपानमैत्री वातावरण निर्माण गर्न परिवार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम, रोजगारदाता र समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउने दर ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशत तथा दुई वर्षसम्म स्तनपान गराउने दर ९४ प्रतिशत रहेको छ । यद्यपि जन्मपछिको पहिलो घण्टाभित्र स्तनपान सुरु गराउने अभ्यासमा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ ।
राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार सुदूरपश्चिम प्रदेशमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर ६९ प्रतिशत र पूर्ण स्तनपान गराउने दर ७४ प्रतिशत रहेको जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्तनपानले बालबालिका र आमाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जानकारी दिँदै पर्याप्त स्तनपानको अभ्यासबाट विश्वभर प्रत्येक वर्ष आठ लाख २० हजारभन्दा बढी बालबालिकाको ज्यान जोगाउन सकिने तथ्य प्रस्तुत गरिएको थियो । अपर्याप्त स्तनपानका कारण बालबालिकामा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा कुपोषणको जोखिम बढ्ने र महिलामा स्तन तथा डिम्बाशयको क्यान्सर, मधुमेहलगायत स्वास्थ्य समस्या निम्तिन सक्ने बताइएको छ ।
अभिमुखीकरणमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रमुख व्यवस्थाबारे समेत जानकारी गराइएको थियो । ऐनले स्तनपानको संरक्षण र प्रवद्र्धन गर्दै शिशुका लागि सुरक्षित तथा पर्याप्त पोषण सुनिश्चित गर्ने उद्देश्य राखेको बताइएको छ ।
कार्यक्रममा ऐन कार्यान्वयनका लागि संघ, प्रदेश, जिल्ला र स्थानीय तहमा निरीक्षक तोकिएको तथा नियमित अनुगमन, निरीक्षण र आवश्यक कानुनी कारबाहीको व्यवस्था रहेको जानकारी दिइएको थियो । ऐन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई जरिवाना तथा कैद सजायसमेत हुन सक्ने व्यवस्था रहेको बताइएको छ ।
वक्ताहरूले स्तनपान केवल आमाको जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गर्दै स्तनपानमैत्री समाज निर्माणका लागि सबै सरोकारवाला निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।













