बैतडी, जेठ ३१ गते । बैतडीको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रालाई राहत दरबन्दीमा कार्यरत शिक्षक नरेशबहादुर चन्दले दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको हो। जेठ २२ गते भएको भनिएको घटनाबारे छात्राले परिवारलाई जानकारी गराएपछि विषय सार्वजनिक भएको जनाइएको छ।
घटना सार्वजनिक भएपछि विद्यालय प्रशासन तथा सरोकारवाला पक्षबीच छलफल भएको थियो। छलफलका क्रममा आरोपित शिक्षकमाथि यसअघि पनि यस्तै प्रकृतिका गुनासा आउने गरेको चर्चा भएको स्थानीय स्रोतले जनाएको छ। विद्यालयका प्रधानाध्यापक पदमराज लेखकका अनुसार आरोपित शिक्षक चन्दलाई विद्यालयबाट बर्खास्त गरिएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बैतडीमा पीडित पक्षबाट जाहेरी दर्ता भइसकेको छ। प्रहरीका अनुसार आरोपित शिक्षक सम्पर्कमा आइसकेका छन् र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।












