बैतडी, जेठ २१ गते । पञ्चेश्वर गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीको सहजीकरणमा जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीय स्वयंसेवक परिचालन गर्ने उद्देश्यले अभ्यासमा आधारित तालिम सञ्चालन गरेको छ।
गाउँपालिकाको आयोजनामा र सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्मको समन्वयमा सञ्चालन गरिएको तालिममा प्रत्येक वडाबाट पाँच–पाँच जनाका दरले सहभागी छनोट गरी पालिकास्तरीय स्वयंसेवक समिति गठन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो।
गठन हुने समितिलाई विपद् प्रतिकार्य, उद्धार तथा वातावरण संरक्षणसम्बन्धी सीप प्रदान गरी आवश्यक पर्दा परिचालन गरिने उहाँले बताउनुभयो।
पञ्चेश्वर क्षेत्रमा बाढी, पहिरो, नदीजन्य दुर्घटना लगायतका प्राकृतिक विपद्को जोखिम रहने भएकाले स्थानीय स्तरमै दक्ष जनशक्ति तयार गर्न तालिम सञ्चालन गरिएको हो। महाकाली नदी किनार नजिक बसोबास गर्ने नागरिकहरुको समय समय बगेर धेरैजनाको ज्यान गइसकेको छ । भने यस्ता किसिमका विपद्जन्य घट्नालाई कम गर्न विपद् पूर्वतयारी र उद्धार क्षमताको आवश्यकता उजागर गरेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले जानकारी दिनुभयो ।
विपद्का बेला तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक सामग्रीसमेत उपलब्ध गराइने उहाँले बताउनुभयो। स्थानीय स्वयंसेवकलाई प्राथमिक उद्धार, खोज तथा बचाउ, जोखिम न्यूनीकरण र समुदाय परिचालनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिने उहाँको भनाइ छ।
तालिम जेठ २० गतेदेखि २६ गतेसम्म सञ्चालन हुने तालिमले पालिकामै विपद् व्यवस्थापन न्युनिकरण गर्नसक्ने जनशक्ति उत्पादन हुदा झन सजिलो हुने सशस्त्र प्रहरी बल बैतडीका प्रहरी निरक्षक जंगबहादुर कुँवरले बताउनुभयो ।














