वाशुलिङ्ग बैतडी, जेठ २गते ।
निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजनको माग गर्दै बैतडीका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । देशभर सञ्चालन भइरहेको आन्दोलनअन्तर्गत जिल्लाका निर्माण व्यवसायीहरुले पनि चरणबद्ध कार्यक्रम सुरु गरेको बताएका छन् ।
पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले निर्माण कार्य सञ्चालन गर्न कठिन भएको निर्माण व्यवसायी संघ बैतडी का महासचिव विकास चन्दले जानकारी दिनुभयो ।
लागत बढेपछि निर्माण व्यवसायी मर्कामा परेको भन्दै मूल्यवृद्धि समायोजन गर्न सरकारसँग माग गरिएको निर्माण व्यवसायी संघ बैतडीका कोषाध्यक्ष राजेन्द्र चन्दले बताउनुभयो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत निर्माण व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइसकेका छन् । यस्तै सडक डिभिजन कार्यालय, जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र सघन शहरी तथा भवन निर्माण आयोजनामा पनि ज्ञापनपत्र बुझाइएको निर्माण व्यावसायीहरुले बताएका छन् ।
निर्माण व्यवसायीहरुले हाल सञ्चालनमा रहेका आयोजना समयमै सम्पन्न गर्न कठिन भएको बताएका छन् । उनीहरुले बैंक ग्यारेन्टी, बिमा लगायतका म्याद थप गर्नुपर्ने तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग समेत अघि सारेका छन् ।
पहिलो चरणअन्तर्गत जेठ ४ गतेसम्म विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम रहेको महासचिव चन्दले जानकारी दिएका छन् ।














