बैतडी जिल्लामा वन क्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको पाइएपछि डिभिजन वन कार्यालय बैतडीले सम्बन्धित व्यक्ति, संस्था र निकायलाई १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको छ ।
कार्यालयले जारी गरेको सूचनाअनुसार जिल्लाभर वन क्षेत्र अतिक्रमण गरी विभिन्न व्यक्ति, संस्था तथा निकायहरूले अनधिकृत संरचना निर्माण गरेका छन् । कार्यालय प्रमुख भक्तराज गिरीका अनुसार ढोल्यामोड, गिरिजाबगर, जमिटाँड, रसेडाखाली, रुइनचौर बजार, साँफे बजार, उचापत्थर, टकरे, जुकेपानी, भड्याखोला, गर्जे, ठाँड, चाप, लमखोला, सिरोडा, मुस्याचौर, बुढीचौर, डडिया र खोचलेक लगायत क्षेत्रमा वन जमिनमाथि संरचना निर्माण गरिएका छन् ।
राष्ट्रिय वन मात्र नभई सामुदायिक वन क्षेत्र समेत अतिक्रमणको चपेटामा परेको पाइएको छ । गिवाखोला र भूमीराज सुनुवागढी लगायतका सामुदायिक वनहरूको क्षेत्र पनि अतिक्रमणमा रहेकाले ती क्षेत्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको गिरीले बताउनुभयो । अतिक्रमित क्षेत्रमा विभिन्न व्यक्ति तथा निकायहरूले घर टहरा, पक्की घर निर्माण गरेका र खेतीपाती गर्दै आएका छन् ।
वन ऐन २०७६ को दफा ४९ (ग) ले वन क्षेत्र अतिक्रमण स्पष्टतः निषेध गरेको छ । सोही व्यवस्थाअनुसार तोकिएको म्यादभित्र अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाइने कार्यालयले जनाएको छ । अतिक्रमित वन क्षेत्र खाली गराउने अभियानमा स्थानीय सरकारहरूलाई समेत सक्रिय सहयोगका लागि आग्रह गरिएको गिरीले थप जानकारी दिनुभयो ।
उल्लेखनीय छ कि यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन स्थानीय तहलाई कार्ययोजना तयार गर्न आग्रह गरेको थियो ।
पन्ध्र दिनभित्र अतिक्रमित क्षेत्र हटाउन डिभिजन वनको आग्रह
सेयर गर्नु हाेस
सम्बन्धित समाचार








