बैतडीको शिवथान गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ। बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको मृत्यु भएको हो।
थारु पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत मजदुर थिए र सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरमा भाडामा बस्दै आएका थिए। उनीसँगै उनका भतिज गुरीलाल थारु पनि सोही घरमा बस्ने गरेका थिए।
आज बिहान करिब ३–४ बजेतिर बाथरुम जाने क्रममा छतबाट लड्दा उनको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिएका छन्।












