बैतडी, चैत २७ गते ।
सुर्नया गाउँपालिका–१ मा आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
वडा कार्यालय हटैराज अन्तर्गत गुरुकेलीमा शुक्रबार आयोजित कार्यक्रममा वडाबाट सञ्चालन भएका योजना, बजेट तथा सेवा प्रवाहसम्बन्धी गतिविधिबारे जानकारी प्रस्तुत गरिएको हो ।
वडाअध्यक्ष धनबहादुर चन्दका अनुसार, वडास्तरमा सम्पन्न कामकारबाहीबारे नागरिकलाई जानकारी गराउने तथा सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी स्थानीयवासीले विभिन्न जिज्ञासा राखेका थिए भने उठेका प्रश्नको जवाफ वडाअध्यक्ष चन्द तथा सम्बन्धित कर्मचारीले दिएका थिए ।
सुनुवाइका क्रममा गत आर्थिक वर्षमा वडामार्फत सञ्चालन भएका योजना तथा कार्यक्रम, बजेट खर्च र सेवा प्रवाहसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो। सहभागी अधिकांशले अनुदान वितरण कार्यक्रममा सबैलाई समेट्नुपर्ने, विकासलाई दिगो बनाउने खालका योजना अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
जवाफ दिने क्रममा वडाअध्यक्ष चन्दले विगतदेखि नै कृषि तथा पशु क्षेत्रका अनुदान कार्यक्रमहरूमा सबैलाई समेट्ने प्रयास गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ पारदर्शी र समावेशी ढंगले कार्यक्रम सञ्चालन गरिने बताए ।
साथै तीनै तहका सरकारमार्फत वडाभित्र सञ्चालित विकास निर्माणका कामहरू पारदर्शी ढंगले अघि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे ।
गत आर्थिक वर्षमा वडाले विभिन्न शीर्षकमा ४६ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आर्थिक बर्षमा भने ३३ हजार मात्रै संकलन भएको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
वडाअध्यक्ष चन्दको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।











