चैत २५ गते । आफ्नै सहकर्मीमाथि कुटपिट गरेको आरोपमा बैतडीका एक स्वास्थ्यचौकी इन्चार्जविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारले सोही कार्यालयमा कार्यरत अनमी माया भट्टमाथि कुटपिट गरेका हुन् । घटना गएको आइतबार धनगढी–१ स्थित अदालत रोडमा भएको जनाइएको छ ।
कुटपिटबाट भट्टको टाउको र हातमा चोट लागेको छ । उनले लुहारले इट्टाले प्रहार गरेको बताएकी छन् ।
घटनापछि प्रहरीले लुहारलाई तत्काल नियन्त्रणमा लिएको थियो ।
हाल उनी कैलाली प्रहरीको हिरासतमा रहेका छन् । पीडित भट्टको जाहेरीका आधारमा लुहारविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । प्रहरीले अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।












