केशवराज भट्ट, बैतडी । बैतडीबाट प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद शिवराज भट्टलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसक्नुभएको छ ।
सो मन्त्रालय असारदेखि रिक्त रहँदै आएको अवस्थामा मुख्यमन्त्री शाह स्वयंले कार्यभार सम्हाल्दै आउनुभएको थियो ।
नवनियुक्त मन्त्री भट्टले आज साँझ ५ बजे पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ ।
बैतडी प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित भट्ट यसअघि कानुन मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको अनुभवसमेत रहेको छ ।
यसैबीच, संसदीय दलको बैठकले समसामयिक आवश्यकतालाई मध्यनजर गर्दै भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले संघीय सरकार गठनपश्चात् प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सुझाव संकलन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् ।










