वासुलिङ बैतडी, चैत्र २२ गते । जिल्लास्थित सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको छ । सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै कार्यालयहरूले सेवा प्रवाहमा सुधार ल्याउन तयालिएको छ ।
विगतमा सामान्य कामका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था रहे पनि हाल सेवा छिटो, छरितो र सरल रूपमा उपलब्ध हुन थालेको सेवाग्राहीहरूले बताएका छन् । स्थानीय तहदेखि जिल्लास्तरीय कार्यालयसम्म सेवा प्रवाहमा प्रभावकारिता बढ्दै गएको सेवाग्राहीहरूले बताउनथालेका छन ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा बिचौलियामुक्त बनाउन पहल तीव्र पारेको बताएको छ । प्रशासनले एक सूचना जारी गर्दै सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्य भएमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।
जिल्लास्थित सबै कार्यालयहरूलाई सार्वजनिक सेवा बिचौलियामुक्त बनाउन प्रशासनले आग्रह गरेको छ। साथै सेवा प्रवाहलाई अझ छिटो, छरितो र सहज बनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ । स्थानीय स्तरमै सेवा निःशुल्क र सहज रूपमा उपलब्ध हुन थालेपछि सेवाग्राहीले समय र खर्च दुवै बचत गर्न सकेका छन्। यसले ग्रामीण भेगका नागरिकलाई विशेष रूपमा लाभ पुगेको बताइएको छ।
सरकारी सेवा प्रणालीमा आएको सुधारले पारदर्शिता अभिवृद्धि हुनुका साथै सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






