केशव भट्ट, बैतडी। वनडढेलोका कारण बढ्दो क्षति न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय, बैतडीले वन डढेलो व्यवस्थापन सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्दै जनचेतना अभिवृद्धि गरिएका डिभिजन वन कार्यालय, बैतडीका सूचना अधिकारी नरेशचन्द्र कर्णले बताउनुभयो ।
भौगोलिक विविधताले सम्पन्न नेपालका वन क्षेत्रमा बहुमूल्य जडिबुटी पाइने भए पनि पछिल्लो समय मानविय कारणले वनडढेलोका घटना बढ्दै जाँदा प्राकृतिक सम्पत्तिमा ठूलो क्षति पुगिरहेको छ।
वन विभागका अनुसार नेपालका करिब ४४ दशमलब ७४ प्रतिशत भू–भाग वनले ढाकेको छ।
हरेक वर्ष झण्डै दुई हजारभन्दा बढी आगलागीका घटना हुने गरेका छन्। डढेलोका कारण वन क्षेत्रले वर्षेनी ठूलो क्षति व्यहोर्दै आएको छ। वनमा हुने आगलागी नियन्त्रणका लागि चैत १ देखि ७ गतेसम्म मनाइने वन डढेलो व्यवस्थापन सप्ताहअन्तर्गत बैतडीमा पनि समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो।
सूचना अधिकारी कर्णले वनडढेलो न्यूनीकरणका लागि समुदायसँगै विद्यालय तहको पाठ्यक्रममा समेत सम्बन्धित विषय समावेश गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो ।
सुदूरपश्चिमका पहाडी जिल्लामा विशेषगरी सल्लो वनमा आगलागीका घटना बढी हुने गरेका छन्। पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्र बिष्टले खर–फाग्लोमा स्थानीयले लगाउने आगो तथा ‘घाँस छिटो पलाउँछ’ भन्ने गलत मान्यताका कारण डढेलो बढ्ने गरेको बताउनुभयो।
डिभिजन वन कार्यालयले सप्ताहको अवसरमा समुदायलाई आगलागी नियन्त्रणसम्बन्धी अभ्याससमेत गराउँदै आएको जनाएको छ। सुक्खायाम सुरु भएसँगै फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलोको जोखिम उच्च रहने गर्दछ।
वनडढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर असर पर्ने भएकाले यसको रोकथामका लागि प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरूले बताएका छन्।










