वाशुलिङ बैतडी, चैत ९ गते । बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको छ।विशेषज्ञ चिकित्सक अभावमा पशुमा देखिने जटिल रोगको पहिचान तथा उपचारमा समस्या देखिएको हो ।
विज्ञ केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकार ले पदपूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको हो । करारमा कार्यरत चिकित्सक स्थायी सेवामा नाम निकालेर अन्यत्र गएपछि केन्द्र लामो समयदेखि चिकित्सकविहीन बनेको कार्यालयले जनाएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका निमित्त प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावकै कारण पछिल्ला दिनमा विभिन्न समस्या देखिएका छन्। केही दिनअघि सिगास गाउँपालिकाको जंगलमा घाइते भएको चितुवाको बच्चाको उपचारका लागि डडेलधुराबाट चिकित्सक बोलाउनुपरेको उनले जानकारी दिए। त्यस्तै शिवनाथ गाउँपालिकामा एक स्थानीयको गाईको उपचारका लागि पनि बाहिरबाटै चिकित्सक ल्याउनुपरेको थियो।
पन्तका अनुसार सामान्य उपचार सेवा केन्द्रमै उपलब्ध भए पनि विशेषज्ञ चिकित्सकको हस्ताक्षर आवश्यक पर्ने रिपोर्ट तथा जटिल रोगको उपचारका लागि भने समस्या हुने गरेको छ । गम्भीर प्रकृतिका बिरामी पशुका लागि कहिलेकाहीँ धनगढीबाट समेत चिकित्सक बोलाउनुपर्ने अवस्था रहेको उहाले बताउनुभयो ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको उक्त केन्द्रमा लामो समयदेखि चिकित्सक अभाव हुँदा पनि पदपूर्ति हुन नसक्दा स्थानीय सेवाग्राही प्रभावित भएका छन्।
विशेषज्ञ सेवा अभावका कारण पशुमा लाग्ने रोगको पहिचान, निदान, ल्याब परीक्षण, शल्यक्रिया तथा निरोगिता प्रमाणिकरणजस्ता सेवा प्रभावहीन बनेका छन्। यसले पशुपालन क्षेत्रमा लगानी गर्नसमेत स्थानीय किसान हिच्किचाउन थालेको गुनासो गरेका छन्।






