बैतडी । बैतडीमा एमालेका उम्मेदवार र कार्यकर्तासँग मिलेर कांग्रेसका मतदातालाई नगद दिएर भोट माग्दै गरेका एक व्यक्ति निर्वाचन प्रशिक्षण सामग्री र नगदसहित पक्राउ परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले सोही ठाउँका ५२ वर्षीय भानदेव भट्टलाई बुधबार दिउँसो नगद र निर्वाचन प्रशिक्षण सामग्रीसहित नियन्त्रणमा लिएको हो । उनको साथबाट नगद ७९ हजार ५ सय र निर्वाचन प्रशिक्षण सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
निर्वाचनको मौन अवधिमा नगद रकम र नमुना मतपत्रसहित फेला परेपछि भट्टलाई सशस्त्रको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको र थप अनुसन्धान भइरहेको उनले बताए ।
नेपाली कांग्रेस बैतडीले भने भानदेव भट्टसहितका केही व्यक्तिहरुले एमालेका कार्यकर्ताहरुसँग मिलेर कांग्रेसका कार्यकर्तालाई पैसा बाँडेको भन्ने सूचना आएकाले निगरानी गरिदिन मंगलबार जिल्ला प्रशासनलाई पत्र पठाएको थियो ।
कांग्रेसको पत्र पाउने बित्तिकैदेखि भट्टमाथि निगरानी गरेको र आज दिउँसो नगदसहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
भट्ट नेपाली कांग्रेस निकटको किसान महासंघकै सदस्य भए पनि एमालेको प्रचार गरेको सूचना पाएपछि उनीमाथि निगरानीका लागि कांग्रेसले प्रशासनलाई पत्र पठाएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए ।












