बैतडीमा होली खेलेर विद्यालय र सामाजिक संस्थाले जुटाए आर्थिक स्रोत

- Advertisement -

वाशुलिङ बैतडी । जिल्लाका विभिन्न विद्यालय, क्लब तथा आमा समूहले सामूहिक रूपमा होली पर्व मनाउँदै आर्थिक संकलन गरेका छन्। संकलित रकम निजी स्रोतका शिक्षकहरूको तलब व्यवस्थापनदेखि बालविकास, खेलकुद र सामाजिक कार्यसम्म खर्च गरिने सम्बन्धित पक्षहरूले जनाएका छन्।

सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडा, पाटन नगरपालिका–९ का प्रधानाध्यापक प्रकाश महराका अनुसार विद्यालयमा निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकहरूको पारिश्रमिक तथा अन्य व्यवस्थापन खर्च धान्न प्रत्येक वर्ष गाउँ–गाउँमा पुगेर होली खेल्ने गरिएको छ।

“व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा हरेक वर्ष होली खेल्दै आएका छौं,” उहाले भन्नुभयाे , “होलीबाट संकलित रकम निजी शिक्षकको तलबमा खर्च गर्ने गरेका छौं।” यस वर्ष विद्यालयले ६५ हजार रुपैयाँ संकलन गरेको जनाएको छ। विद्यालयमा हाल पाँच जना निजी स्रोतका शिक्षक कार्यरत रहेका छन्।

विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राजु भट्टले संस्कृतिको संरक्षणसँगै विद्यालयको आर्थिक व्यवस्थापनका लागि होलीजस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयाे। अधिकांश विद्यालय निजी स्रोतमा सञ्चालन भइरहेकाले यस्ता सांस्कृतिक कार्यक्रममार्फत आवश्यक रकम जुटाउने गरिएको उहाले उल्लेख गर्नुभयाे।

यसैगरी, रौलेश्वर मावि कफलकोट, दोगडाकेदार गाउँपालिका–२ ले होली कार्यक्रमबाट १ लाख ६ सय रुपैयाँ संकलन गरेको जनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टका अनुसार उक्त रकम बालविकास कक्षाको सुधार तथा खेलकुद क्षेत्रको विकासमा खर्च गरिनेछ।

त्यस्तै, सिद्धनाथ आधारभूत विद्यालय, सुर्नया गाउँपालिका–५ ले पनि होली खेलेर रकम संकलन गरेको जनाएको छ।

सामाजिक क्षेत्रमा सक्रिय हिमालय आमा समूह, सिगास गाउँपालिका–९ जालहाल्लाले होली खेलेर १९ हजार रुपैयाँ संकलन गरेको छ। समूहकी अध्यक्ष दिव्यश्वरी मल्ल चन्दका अनुसार उक्त रकम सामाजिक कार्यमा खर्च गरिनेछ।

यसैबीच, सत्यं शिवं सुन्दरम् समाज, दशरथचन्द नगरपालिका–१ ले पनि यस वर्ष होली कार्यक्रम आयोजना गरेको जनाएको छ। समाजका अध्यक्ष भुवन भट्टका अनुसार होलीबाट संकलित रकम हरेक वर्ष सामाजिक क्षेत्रमा खर्च गर्दै आइएको छ।

जिल्लामा होली पर्व सांस्कृतिक उत्सवका रूपमा मात्र नभई शैक्षिक संस्था तथा सामाजिक संघसंस्थाको आर्थिक सुदृढीकरणको माध्यमका रूपमा स्थापित बन्दै गएको देखिएको छ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश