बैतडीका मतदान अधिकृतहरुले मतदान सामग्री बुझे, आजै मतदान केन्द्रतर्फ प्रस्थान

- Advertisement -

वाशुलिङ्ग, बैतडी, फागुन १७ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका २१५ वटै मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरूले आवश्यक सामग्री बुझेका छन्। सामग्रीसहित अधिकृतहरू आजैबाट सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।

मतदान केन्द्रमा पुगेपछि मतदान स्थल व्यवस्थापन, मतपेटिका र मतपत्रको सुरक्षा, मतदाता नामावली परीक्षणलगायतका तयारी कार्य आजैबाट सुरु गरिने जनाइएको छ। दुर्गम भूगोल भएका केन्द्रमा समयमै पुगेर आवश्यक व्यवस्था मिलाउन कर्मचारीहरू अग्रिम रूपमा पठाइएको कार्यालयले जनाएको छ।

निर्वाचनका लागि छनोट गरिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई दुई दिनसम्म विशेष तालिम प्रदान गरिएको थियो। तालिममा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, सुरक्षा सतर्कता तथा निर्वाचन आचारसंहिता सम्बन्धी विषयमा सहजीकरण गरिएको जनाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा निर्वाचन सम्पन्न गर्न कुल १ हजार २८८ जना कर्मचारी खटाइएको छ। प्रत्येक स्थायी मतदान केन्द्रमा तीन जना कर्मचारी रहने व्यवस्था मिलाइएको छ। बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ भने ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र २ जना अन्य मतदाता रहेका छन्। साथै २ हजार ७० जना अस्थायी मतदाता रहेका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार बैतडीका ३३ मतदान केन्द्र अति संवेदनशील, २८ मतदान केन्द्र संवेदनशील र ६८ मतदान केन्द्र सामान्य अवस्थाका रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश