केशव भट्ट, बैतडी ।
बैतडीमा चुनावी माहोल दिनप्रतिदिन तात्दैगएको छ । यही माहोलका बीच सुर्नया गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष हर्कबहादुर पाण्डेयले औपचारिक रूपमा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित पाण्डे पछिल्लो समय एमालेमा आबद्ध थिए । तर बदलिँदो राजनीतिक परिवेश र स्थानीय जनभावनालाई आत्मसात् गर्दै उनले कांग्रेस रोजेको बताएका छन् ।
सिगास गाउँपालिकाको गाँजरीमा आयोजित कार्यक्रममा उनलाई पार्टीमा भव्य स्वागत गरिएको कांग्रेस बैतडीका उपसभापति एवं प्रचारप्रसार समिति संयोजक बिरबहादुर बिष्टले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पार्टी सभापति चतुरबहादुर चन्दले पाण्डेलाई खादा र अबिर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेताहरूले निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको दाबी गरे । घरदैलो अभियान, भेटघाट र अन्तरक्रियाबाट पार्टीप्रति आमनागरिकको उत्साह उल्लेखनीय रूपमा बढेको उनीहरूको भनाइ छ ।
पछिल्लो समय बैतडीका विभिन्न स्थानीय तहबाट अन्य दल परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लर्को लाग्न थालेको बताइएको छ ।
उम्मेदवारको सकारात्मक छवि, नेतृत्व क्षमता र उनले नेतृत्व गरेका संघसंस्थाहरूको सफल कार्यसम्पादनका कारण नागरिकहरू कांग्रेसतर्फ आकर्षित भइरहेको दाबी गरिएको छ ।
निर्वाचनको संघारमा देखिएको यो प्रवेश लहरले बैतडीको राजनीतिक समीकरणलाई थप रोचक बनाएको छ ।






