मेलौली नगरपालिका भित्र खेलकुद क्षेत्र नै तरंगित बनाउने गरी निर्णयको सिफारिस भएको छ। नगर खेलकुद विकास समिति अध्यक्ष संकर सिंह भण्डारी उर्फ (सागर भण्डारी सोराडी) विरुद्ध गम्भीर आरोप लागेपछि उनलाई पदबाट निलम्बन गर्न औपचारिक सिफारिस गरिएको हो।
मेलौली नगरपालिका–४ मा सञ्चालन भइरहेको तेस्रो नगरस्तरीय मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्रममा अध्यक्ष भण्डारीले पटक–पटक अराजक गतिविधि गरेको, खेलकुदको वातावरण बिथोल्ने काम गरेको तथा प्रतियोगितालाई विवादित बनाउने प्रयास गरेको आरोप लागेको छ। प्रतियोगिता जस्तो अनुशासित र मर्यादित मंचमा जिम्मेवार पदमा बसेका व्यक्तिबाट नै अशोभनीय व्यवहार भएको भन्दै असन्तुष्टि बढेको बताइएको छ।
आरोपमा भनिएको छकि उनले नगर खेलकुद विकास समिति अध्यक्ष पदको गरिमा, जिम्मेवारी र मर्यादा कायम राख्न नसकेको ठहर गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो। यसै कारण फागुन ९ गते (शनिबार) बाट लागू हुने गरी उनलाई पदबाट निलम्बन गर्न नगर कार्यपालिकामा सिफारिस पेश गरिएको जानकारी दिनुभयो।
उक्त सिफारिसमा नगर प्रमुख भिम बहादुर चन्द, वडा नं. १ का वडाध्यक्ष शरदसिह नेगी, वडा नं. ४ का वडाध्यक्ष हर्क बहादुर चन्द र वडा नं. ८ का वडाध्यक्ष तपेन्द्रसिह बिष्टले हस्ताक्षर गरेका छन्।अब नगर कार्यपालिकाको निर्णयले मेलौलीको खेलकुद क्षेत्रमा थप तरंग ल्याउने देखिएको छ।
मेलौली नगरपालिकाको नगरस्तरीय खेलकुद विकास समितिको अध्यक्षमा भण्डारीलाई बैतडी जिल्ला खेलकुद समितिले २०७९ पौष महिनामा ४ वर्षका लागि अध्यक्षमा मनोनित गरेको थियो। सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली २०७७ को नियम ७ (१) को (क) मा व्यवस्था भएबमोजिम मनोनित गरेको थियो ।





