spot_img

उम्मेदवार भट्टको चुनावी प्रतिबद्धता सार्वजनिक

- Advertisement -

केशव भट्ट, बैतडी फागुन ५ गते । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार परमानन्द भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।

चार पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उहाँले जिल्लाको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारीलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो।

सदरमुकाम गोठालापानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार भट्टले जिल्लाका छ वटा मुख्य भेगमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने, गुणस्तरीय शिक्षा विस्तार गर्ने र प्रमुख सडकहरू कालोपत्रे गर्ने योजना अघि सारेका छन। उहाँले कृषि, जडीबुटी उद्योग, धार्मिक पर्यटन, उद्यमशीलता प्रवर्द्धन तथा वन्यजन्तु नियन्त्रणलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

पूर्व जिल्ला विकास समिति बैतडीका सभापतिसमेत रहनुभएका भट्टले आफ्नो कार्यकालमा सुरु गरिएका च्वाँगढ क्षेत्रको बिप्याकटाल–ढुङ्गाढ सडक, दुदिलाखान–गाँजरी–थलाकाँडा सडक र श्रीभावर–बचपानी–शिवलिङ सडक कालोपत्रे गर्ने योजना रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, दोगडाकेदार क्षेत्रको खोचलेक–रिम सडक, सदरमुकामदेखि तल्लो स्वराड जोड्ने देहिमाण्डौं–गिरेगाडा तथा देहिमाण्डौं–सलेना सडक र बैतडी–दार्चुला तथा बझाङ जोड्ने सतबाँझ–श्रीभावर सडकलाई महाकाली करिडोरसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो।

धार्मिक पर्यटन प्रवर्द्धनतर्फ विगतमा गरिएको कामको अनुभव सुनाउँदै भट्टले पातालभूमेश्वर क्षेत्रमा गुरुयोजना अनुसार काम भएपछि भारतीय पर्यटक आगमन सुरु भएको दाबी गर्नुभयो। उहाँले ग्वाल्लेक र सिगास संरक्षित क्षेत्रमा पाइने जडीबुटी तथा वनपैदावरमा आधारित उद्योग स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिँदै उहाँले बाँदर आतंकका कारण किसान विस्थापित हुन थालेको उल्लेख गर्नुभयो। कृषिमा विविधीकरण गर्दै टिमुर, बेसार, अदुवा तथा अमिलो जातका फलफूल खेतीलाई प्राथमिकता दिने योजना रहेको उहाँको भनाइ छ। साथै, ढुङ्गाड, ढिक, सलेना र गोकुलेश्वर क्षेत्रमा पहिरो नियन्त्रण तथा भू–क्षय रोकथामका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य सेवातर्फ जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको दरबन्दी स्वीकृत गराई दक्ष जनशक्तिसहित सेवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।
रोजगारी सिर्जनाका लागि युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने उद्देश्यसहित फस्फोराइट, फलाम तथा चुनढुङ्गा खानीको अन्वेषण र उत्खनन प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएको छ।

त्यसैगरी, सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रलाई कृषि होमस्टेमा रूपान्तरण गरी कृषि पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img