महाशिवरात्रिको अवसरमा पात्ताल भुवनेश्वर धाममा लाग्ने मेलाको तयारी पुरा

- Advertisement -

वाशुलिङ्ग/ बैतडी

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वको संगमस्थल पाताल भुवनेश्वर धाममा यस वर्षको महाशिवरात्रि मेला भोलि (फागुन ३ गते) भव्य रूपमा लाग्ने भएको छ। मन्दिर परिसरमा लाग्ने मेला व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

सुर्नया गाउँपालिका–२स्थित उक्त धाममा हरेक वर्षझैं यस वर्ष पनि दर्शनार्थीको उल्लेख्य भीड रहने अपेक्षा गरिएको छ। मेलालाई व्यवस्थित बनाउन सतबाँझ अस्थायी प्रहरी पोष्टको टोली, स्थानीय जनप्रतिनिधि तथा नेपाल राष्ट्रिय मावि सिउडेका विद्यार्थीले संयुक्त रूपमा मन्दिर परिसर सरसफाइ गरेका छन्।

ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण धाममा हरेक वर्ष महाशिवरात्रिका दिन ठूलो मेला लाग्ने परम्परा रहँदै आएको वडा अध्यक्ष गणेशबहादुर बिष्टले जानकारी दिनुभयो । यस वर्ष पनि दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर तयारी पूरा गरिएको उहाले बताउनुभयो ।

धाममा विषेशगरी महिला दिदिबहिनीहरुले एक सातादेखि शुध्दभएर जाने र अ-विवाहितहरुले राम्रो पति पाँउभनी र विवाहितहरुले शुख, शान्ति र शौभाग्यको लागि व्रत उपाशना सहित पूजा गर्ने आराधाना गर्ने गर्दछन्।

चारैतिर वनजंगलले घेरिएको अग्लो डाँडोमा अवस्थित धाम परिसरको बीचमा प्राकृतिक ताल रहेको छ, जुन कहिल्यै नसुक्ने जनविश्वास छ। तर संरक्षण अभावका कारण पछिल्लो समय ताल सुक्ने खतरा बढ्दै गएको स्थानीय धीरबहादुर बिष्टले बताउनुभयो । धाम क्षेत्रमा मुख्य गुफासहित अन्य चार गुफा रहेका छन्।

वि.सं. २०७२ मा जर्मन गुफा विशेषज्ञहरूको टोलीले गरेको अध्ययनअनुसार यहाँको गुफा दक्षिण एसियाकै लामोमध्ये एक हुनसक्ने अनुमान गरिएको थियो। टोली करिब ३ हजार ५ सय मिटर भित्रसम्म पुगेको जनाइएको छ। स्थानीय नरेन्द्रबहादुर चन्दका अनुसार प्रभावकारी प्रचार–प्रसार र संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना छ।

धामसम्म पुग्न मुख्य सडकबाट झण्डै आधा किलोमिटर पिसिसी बाटो निर्माण गरिएको छ। पछिल्लो समय मन्दिर, विवाह मण्डपलगायतका संरचना निर्माण भई धार्मिक तथा सामाजिक गतिविधि बढ्दै गएका छन्। यहाँ विवाह, व्रतबन्धजस्ता शुभकार्य गर्नेको संख्या वर्षेनि बढ्दो छ।

धार्मिक ग्रन्थ स्कन्द पुराणको हिमवत खण्डमा समेत पाताल भुवनेश्वरको उल्लेख पाइन्छ। धार्मिक मान्यताअनुसार भगवान विष्णुले राजा बलिलाई पाताल पठाएको प्रसंगसँग यसको नाम जोडिएको छ।

अर्को किम्वदन्तीअनुसार भगवान शिवले सतीदेवीको पार्थिव शरीर बोकेर हिँड्दा सतीको पैताला खसेको स्थानका रूपमा यो धाम शिव–शक्तिको प्रतीक बनेको विश्वास गरिन्छ।
संस्कृति–परम्पराका जानकार ज्योतिष लवदेव भट्टले पुराणमा वर्णन गरिएकाले धामको धार्मिक महिमा विशेष रहेको बताउनुभयो । हाल धाम परिसरको वन क्षेत्रलाई ‘धार्मिक वन’का रूपमा व्यवस्थापन गरिएको छ।

महाशिवरात्रिका अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेका छन्। साउन महिनामा पनि यहाँ दर्शनार्थीको उल्लेख्य उपस्थिति रहने गर्दछ।

भारतबाट आएकी एक सिक्किमी तपस्वीले २७ महिनासम्म धाममै बसेर तपस्या गरेको स्थानीयले बताएका छन्।

प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्वको संगम बनेको पाताल भुवनेश्वर धाममा यस वर्षको महाशिवरात्रि मेला थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।

शिवरात्रीकै अवसरमा जिल्लाका विभिन्न शिव मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्ने गर्दछ। यस्तै टाढा टाढाबाट आएका दर्सनार्थीहरुले आफन्तसंग भेटघाट गर्ने, स्थानीय स्तरमा उत्पादित सर-समानहरुको खरिदबिक्री गर्ने लगायतका गतिविधिहरु हुने पाटन नगरपालिका -४का स्थानीय हरिश भट्टले बताउनुभयो ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश