पुर्चाैडीको उकालो मोडमा १३ जनाको ज्यान जाने गरी बस दुर्घटना, दुलहा–दुलही भने सुरक्षित
वाशुलिङ बैतडी, माघ २३ गते ।
दुलही लिएर घर फर्किदँै गरेको जन्तीमा उत्साह थियो । लामो दिनको थकानसँगै घर पुग्ने हतार, आपसी गफ र रमाइलोले बसभित्रको वातावरण खुसीले भरिएको थियो । पुर्चाैडीबाट बझाङको सुनकुडा हुँदै नौणासा गाउँतर्फ लागेका जन्तीहरूलाई त्यो यात्राले कहिल्यै नफर्किने पीडा दिनेछ भन्ने कसैले सोचेको थिएन ।
पुर्चाैडी नगरपालिका–७ बडगाउँको साँघुरो र उकालो घुम्तीमा पुग्दा बस मोडिन सकेन । चालकले ब्याक गियर हाल्नासाथ बसले नियन्त्रण गुमायो । उकालो सडकमा ब्रेकले साथ नदिँदा बस एकाएक भिरतर्फ फर्कियो । यही क्षण अमरराज जोशीले “बस खस्दैछ” भन्दै चिच्याउँदै ढोकाबाट हाम फाले । उनी उतीसको रुखमा अड्किएर ज्यान जोगाउन सफल भए । तर, बस भने करिब २०० मिटर तल खस्दै सदाका लागि मौन बन्यो ।
“हरेक सेकेन्ड त्यो दृश्य आँखा अगाडि घुमिरहन्छ,” अमरराज भन्नुहुन्छ, “स्थानीय र प्रहरीलाई खबर गरेँ, तर त्यो पीडादायी दृश्यले मलाई पनि अचेत बनायो ।” दुई–तीन घण्टापछि मात्र होसमा आएका उनी आफू सधैं देउदेवतामा विश्वास गर्ने व्यक्ति भएको र सोही विश्वासले पुनः जीवन पाएको अनुभूति सामाजिक सञ्जालमा लेख्छन् ।
१३ जनाको ज्यान गयो, ३४ जना घाइते
पुर्चाैडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर फर्किदँै गरेको पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार बेलुका करिब ८ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । तीमध्ये आठ जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बसन्त राज रताला तथा पुर्चाैडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन् ।
यस्तै, उपचारका क्रममा मृत्यु हुनेमा बित्थडचिर–७ का १७ वर्षीय किसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ–७ का २७ वर्षीय केशव राज भट्ट र पुर्चाैडी–७ की १५ वर्षीया सुशिला जोशी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् । उनीहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
अत्यधिक भार र कच्ची सडक कारण
प्रारम्भिक अनुसन्धान अनुसार कच्ची तथा उकालो सडकमा अत्यधिक भार बोकेका कारण बस एकाएक ब्याक भएर दुर्घटना भएको अनुमान गरिएको छ । जन्तीमा सहभागी बेहुली पक्षका मानिसहरू पनि घर फर्कन सोही बसमा चढेका कारण यात्रुको संख्या बढी भएको अन्य व्यक्तिहरु बताउँनुहुन्छ । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको थियो । बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का वीरन्द्र बुढा प्रहरी नियन्त्रणमा छन् । दुलहा–दुलही भने अर्काे सवारी साधनमा रहेकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
शोक विदा घोषणा
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पुर्चाैडी नगरपालिका र बझाङको बित्थडचिर गाउँपालिकाले शुक्रबार शोक विदा दिएका छन् । पुर्चाैडी नगरपालिकाले नगर भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरू बन्द रहने गरी सूचना जारी गरेको छ । बित्थडचिर गाउँपालिकाले पनि पालिका अन्तर्गतका कार्यालयहरूमा शोक विदा दिएको जनाएको छ ।
जन्तीको खुसी बोकेर हिँडेको त्यो बसले पुर्चाैडीको एक मोडमै १३ परिवारको भविष्य अन्धकार बनाइदियो । शोक, आँसु र पीडाले अहिले पुर्चाैडी र बित्थडचिर गाउँ शोकमग्न छन् ।












