केशवराज भट्ट, बैतडी ।
बैतडीमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणलाई लक्ष्यित गर्दै कक्षा ६ मा अध्ययनरत छात्रा तथा लक्षित उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइने भएको छ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन गरिने भएको हो।
अभियानअन्तर्गत जिल्लाभरिका १० वटै स्थानीय तहमा २ हजार ४ सय ५३ जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो ।
भट्टका अनुसार कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी तथा गत वर्षको अभियानमा छुटेका किशोरीलाई लक्षित गरी खोप दिइनेछ।यस वर्षदेखि एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा कक्षा ६ मा अध्ययनरत २ हजार ३ सय ८६ जना र गत वर्ष छुटेका ६१ जना तथा विद्यालय बाहिर रहेका ६ जना किशोरी गरी कुल २ हजार ४ सय ५३ जनालाई खोप दिने लक्ष्य निर्धारण गरिएको हो।
यसअघि गत वर्ष सञ्चालन गरिएको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी १० हजार ३ सय १० जनालाई एचपीभी खोप दिइएको थियो।
यस्तै जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. पविन उपाध्यायले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भएर लगाउन सकिने बताउनुभयो ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुको ज्यान जाने प्रमुख कारणमध्ये एक भएकाले समयमै खोप लगाएर रोगबाट जोगिनु अत्यावश्यक रहेको उहाले बताउनुभयो ।





