बैतडी । बैतडीमा निर्वाचन सुरक्षाका लागि खटिएका एक प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार चन्द दशरथचन्द नगरपालिका–५ स्थित क्रिकेट खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर मङ्गलबार राति करिब ८ः३० बजे घर फर्कने क्रममा खरकटे सल्लेरी भिरबाट लडेका थिए। करिब २ सयदेखि २ सय ५० मिटर तल खसेको अनुमान गरिएको छ।
घटनापछि स्थानीय तथा प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल बैतडी पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।











