बैतडी, पुस २६ — डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीमा शनिबार भएको दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा परशुराम नगरपालिका–१२ निवासी २७ वर्षीय नविन साउद र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको डडेल्धुरा प्रहरी प्रमुख डीएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो।
प्रहरीका अनुसार जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनापछि ट्याक्टर चालक परशुराम नगरपालिका निवासी ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको डडेल्धुरा प्रहरीले जनाएको छ।











