केशवराज भट्ट,बैतडी,कात्तिक १३गते । जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामापरी तीन जनाको मृत्यु भएको छ । डिलासैनी र शिवनाथ गाउँपालिकामा भीरबाट लड्दा दुई जनाको मृत्यु भएको छ भने मेलौली नगरपालिका–७ स्वाखानीमा जीप दुर्घटनामा एकजनाको मृत्यु भएको हो ।
डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्की बुधबार दिउँसो घरनजिकै न्यौटे भन्ने स्थानमा खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । कार्कीको शव करिब एक सय मिटर तल फेला परेको थियो । उनका श्रीमान् पहिल्यै निधन भएका र छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका कारण अन्त्येष्टी ढिलो भएको जनाइएको छ ।
त्यसैगरी, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद बुधबार साँझ शिवनाथ मन्दिरमा लागेको जात्रा हेरेर घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको र शिवनाथ धामको मेलाबाट फर्किने क्रममा मेलौली नगरपालिका–७ स्वाखानीमा जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता (इन्स्पेक्टर)बलदेव बडूले जानकारी दिनुभयो ।
से १ ज ७३२ नम्बरको बालेरो जीप दुर्घटनामा मेलौली–२ दुर्गास्थान स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको थियो।
यस्तै घाइते हुनेहरूमा जीप चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडू, मेलौली–२ का ६५ वर्षीय डम्बर पाण्डेय र उनका दुई छोरा ३४ वर्षीय हरि पाण्डेय र २८ वर्षीय ओमप्रकाश पाण्डेय रहेका छन् । चालक बाहेक मृतक र घाइतेहरू एउटै परिवारका प्रहरीले जनाएको छ।










