बैतडी ; आजदेखि टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता सुरू भएको छ। निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा सुरू भएको प्रतियोगितामा आयोजक विजयी भएको छ।
बिहान सम्पन्न खेलमा निङलाशैनी वारियरमाथि ८ विकेटको जित निकालेको हो। निङ्लाशैनीले दिएको १४१ रनको लक्ष्य एकेडेमीले १९।३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। जसमा प्रतीक बोहराले अर्धसतकीय पारी खेले ।
म्यान अफ द म्याच समेत चुनिएका प्रतिक ५१ रनमा अविजित रहेका स्कोरर भास्कर बोहराले जानकारी दिनुभयो। यस्तै सुशील बोहराले अविजित ३५,दीपक बोहराले ३१ रनको योगदान गरे।
निङलाशैनीका मंगेश दयालले १ विकेट लिए। निङ्लाशैनी खेल मैदान,देहिमाडौंमा पहिला ब्याटिङ गरेको वारियरले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनायो। उसका रिसिकेश बोहराले ५८ रन बनाए।
आयोजकका तर्फबाट यज्ञराज भट्ट र डम्बर पुजाराले २र२ विकेट झारे। प्रतियोगितामा ११ टोलीको सहभागीता रहको र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो।
यसैबीच प्रतियोगिताको एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा निङलाशैनी माविका प्रधानाध्यापक,निङलाशैनी बोर्डिङ स्कुलका प्रधानाध्यापक हेमराज भट्ट,देहिमाडौं बजार व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर बोहरालगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव रोशन बोहराले बताउनुभयो। यस्तै म्यान अफ द सिरिजलाई २।५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १।५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चौका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागी टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्। २५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियोगिताका सहसंरक्षक चक्र बोहराले बताउनुभयो।










