back to top
Home अर्थ / बाणीज्य शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारलाई प्राथमिकता : बैतडीका सात पालिकाको करिब चार...

शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारलाई प्राथमिकता : बैतडीका सात पालिकाको करिब चार अर्ब बजेट सार्वजनिक

0
396

बैतडी जिल्लाका सात पालिकाहरूले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि करिब चार अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । मंगलबार बसेका नगर तथा गाउँसभाबाट पालिकाहरूले आ–आफ्नो बजेट पारित गरेका हुन् ।

सर्वाधिक बजेट दशरथचन्द नगरपालिकाले ल्याएको छ । नगर उपप्रमुख कौशिला चन्दले प्रस्तुत गरेको ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट नगरसभाबाट सर्वसम्मत पारित भएको छ । नगरप्रमुख पुष्करराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसमेत सर्वसम्मत पारित भएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिनुभयो ।

पाटन नगरपालिकाले ६६ करोड ९३ लाख १७ हजारको बजेट बहुमतले पारित गरेको छ । नगरप्रमुख गौरीसिंह रावलले बजेट प्रस्तुत गर्दा उपप्रमुख कमलसिंह बोहराले असहमति जनाउँदै सभा बहिष्कार गर्नुभएको थियो ।

त्यस्तै, पुर्चौडी नगरपालिकाले ६४ करोड १२ लाखको अनुमानित बजेट ल्याएको छ । दोगडाकेदार गाउँपालिकाले ५२ करोड ६८ लाख ७४ हजार ६६४ रुपैयाँको, पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजार, शिवनाथ गाउँपालिकाले ३८ करोड ४८ लाख २७ हजार ४४५ र सुर्नया गाउँपालिकाले ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

सात पालिकाले ल्याएको कुल बजेट रकम ३९८ करोड ६५ लाख १० हजार ८८२ रुपैयाँ पुगेको छ । पालिकाहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई बजेटको प्राथमिकतामा राखेको जनाएका छन् ।

सुर्नया गाउँपालिकाले ‘कृषि, पर्यटन र पूर्वाधार : सुर्नया विकासको मूल आधार’ भन्ने नारासहित नीति तथा कार्यक्रम पारित गरेको छ । दशरथचन्द नगरपालिकाले सर्वाधिक बजेट पारित गर्दा पाटन नगरपालिकामा भने उपप्रमुखको असहमतिका बीच बजेट पारित भएको छ ।

पालिका अध्यक्ष तथा प्रमुखहरूले बजेट सर्वसाधारणको हितमा तयार गरिएको र नीति, योजना तथा पूर्वाधार विकासमा बजेट खर्च गरिने प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here