खडेरीपछि सक्रियता बढ्दै, विषादी अभावले नियन्त्रणमा कठिनाइ
बैतडी, असार ८ गते ।
बैतडी जिल्लामा प्रमुख खाद्यबालीका रूपमा रहेको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखा परेको छ। किराको प्रकोप बढेसँगै यहाँका किसान चिन्तित बनेका छन्।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकाका विभिन्न वडामा मकैबालीमा किराको व्यापक प्रकोप देखिएको छ। “फौजी किराले मकैको पात, डाँठ, घोघा र टुप्पासम्म खाएर बाली पूर्ण रूपमा नष्ट पार्ने गरेको देखिएको छ,” प्रमुख जोशीले बताउनुभयो।

फौजी किरा के हो?
फौजी किरा (Fall Armyworm – Spodoptera frugiperda) मूलतः अमेरिका महादेशको किरा हो, जुन सन् २०१६ तिर अफ्रिकाबाट एसियाली मुलुकहरूमा फैलिएको थियो। नेपालमा पहिलोपटक सन् २०१९ मा यो किराको प्रकोप देखा परेको हो। यो किराले विशेषगरी मकैमा आक्रमण गर्ने गर्छ तर धान, गहुँ, जौं, टमाटर, बन्दा, गाभा लगायतका ८० भन्दा बढी बालीमा समेत यसले क्षति पुर्याउने गरेको पाइन्छ।
यो किराको विशेषता भनेकै दिनभर माटो वा पातभित्र लुकेर बस्ने र राति सक्रिय भई बालीमा ठूलो क्षति पुर्याउने हो। लामो समयको खडेरीपछि वातावरण अनुकूल हुँदा यस किराको सक्रियता झनै बढ्ने कृषि विज्ञहरू बताउँछन्।
कृषक त्रसित, उत्पादनमा गिरावटको आशंका
दोगडाकेदार गाउँपालिका–७ कि किसान मिना भट्ट भन्छिन्, “फौजी किराले मकैबाली पूरै सखाप पारिसकेको छ। समयमै नियन्त्रण नभए उत्पादनमा भारी गिरावट आउन सक्छ।”
दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टका अनुसार किराले रातको समयमा मकैको बोटमा आक्रमण गर्ने र छोटो समयमा बाली नष्ट गर्ने गर्छ। “हामी किराको प्रकोप देखिएका स्थानका किसानहरूलाई विषादी छर्कन सुझाव दिइरहेका छौँ,” उहाँले बताउनुभयो।
विषादी अभावमा थप चुनौती
कृषि ज्ञान केन्द्र बैतडीले किराको नियन्त्रणका लागि इमामेक्टिन बेन्जोएट नामक विषादी वितरण गर्दै आएको भए पनि हाल उक्त विषादीको अभाव रहेको जनाएको छ। किराको प्रभाव मकैको पकेट क्षेत्रमै देखिएको हुँदा विषादीको पहुँच नहुँदा नियन्त्रण कार्यमा थप चुनौती देखिएको हो।
बैतडीमा हाल १३ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ। कृषि ज्ञान केन्द्रले किराको प्रकोपबाट बच्नका लागि सतर्कता अपनाउन र जैविक तथा रासायनिक उपायहरूको प्रयोग गर्न किसानहरूलाई अनुरोध गरेको छ।
पाँच वर्षदेखि निरन्तर प्रकोप
बैतडीमा पाँच वर्षयता हरेक वर्ष अमेरिकन फौजी किराको प्रकोप देखिँदै आएको छ। तर समयमै नियन्त्रण नहुँदा यसले उत्पादन क्षतिमा ठूलो प्रभाव पार्ने गरेको छ। किसानहरूले किराको दीर्घकालीन समाधानका लागि सरकारी तहबाट प्रभावकारी रणनीति आवश्यक रहेको बताएका छन्।













